कालो र सेतो संसार
त्यो दिन घडीले आफ्नै चाल बिर्सियो,
समय श्मशानमा ढुङ्गाझैँ मौन उभियो।
'बाबा' भन्दै ओठ हजार पटक काँपे,
उत्तर भने शून्यले मात्र मलाई अँगाल्यो।
चिसिँदै गएका ती औँला समाउँदै रोएँ,
कपालसँग आफ्नो सम्पूर्ण सास साट्न खोजेँ।
एक निष्कम्मा चमत्कार झुल्कने आश थियो,
तर नियतिले सपनामाथि खरानी पोतिदियो।
कुन निष्ठुरी हातले दीप निभाइदियो?
मेरो जूनलाई किन ग्रहणले निलिदियो?
मेरो आकाश, मेरो सास, मेरो आधार,
किन बीच यात्रामै छोड्यौ मलाई लाचार?
आँखाभित्र आज पनि चिता बलिरहेछ,
मुटुभित्र मौनताको समुद्र चलिरहेछ।
धुवाँसँगै उड्यो मेरो बालापन सारा,
हाँसोको इतिहास बन्यो पीडाको किनारा।
आमाको सिन्दूर समयले पखालिदियो,
रातो जीवनलाई सेतो शोकमा बदलिदियो।
हिजोसम्म इन्द्रेणी थियो संसार,
आज बाँकी छ केवल कालो र सेतो व्यवहार।
किनकि...
बाबा,
तपाईं जानुभएको त्यो एउटै दिनदेखि मेरो समयले धड्किनै बिर्सियो।
मेरो बिहानीले घाम चिन्न छाड्यो, मेरो रातले सपना जन्माउन छाड्यो।
मेरो संसार अब रङहरूको होइन, कालो र सेतो सम्झनाको समाधि बनेको छ।
रुने बानी पनि बसिसकेको छ,
हाँस्नु अभिनयजस्तो लाग्न थालेको छ।
मानिसहरू भन्छन्— "समयले सब घाउ निको बनाउँछ",
तर उनीहरूलाई कसरी भनूँ?
समयले घाउमा बोक्रा त हाल्यो, तर मन सधैँ पोलिरह्यो,
र त्यसले बाबाको आवाज कहिल्यै फर्काउन सकेन।
ढोकाले अझै पनि तपाईंलाई कुरिरहेछ,
खाली कुर्सीले मौनताको गीत गाइरहेछ।
भित्ताको तस्बिर मुस्कुराइरहेछ चुपचाप,
तर त्यो मुस्कानभित्र लुकेको छ अनन्त विलाप।
चियाको कपमा अझै तपाईंको स्पर्श बगिरहेछ,
हरेक कुनामा सम्झनाको सुवास सल्किरहेछ।
यो घर त उस्तै छ, उस्तै छन् भित्ताहरू,
फरक यति मात्र हो— हरायो घरको धड्कन नै!
मेरो आँखाअघि अन्तिम आगो नाचिरहेछ,
त्यो ज्वालामा मेरो बालापन पग्लिरहेछ।
धुवाँले आकाश चुम्यो, तपाईं टाढा जानुभयो,
मलाई सम्झनाको उजाड मरुभूमिमा छोडिदिनुभयो।
आमाको सिन्दूर समयले चोरेर लग्यो,
भाग्यले हाम्रो हाँसो चिहानमा पुरे भाग्यो।
आज पनि संसार रङ्गीनै देखिन्छ सबैलाई,
तर मेरो आँखाले देख्छ शोकको रङ्ग मात्रै।
मेरो हाँसोभित्र लुकेको एउटा अधुरो रुवाइ बन्नुभएको हो!"
बुबाको चिता एक दिन मात्र बल्यो,
तर त्यसको आगो आजसम्म मेरो छातीभित्र निभेको छैन।
सायद स्वर्ग साँच्चै छ भने, एकदिन फेरि भेट हुनेछ।
त्यो दिन नआउन्जेल—
मेरो हरेक सासले,
हरेक धड्कनले,
हरेक प्रार्थनाले
एउटै शब्द उच्चारण गरिरहनेछ—
