मानिस आफूलाई सधैँ शक्तिशाली र अमर सम्झिने भूल गर्छ। तर, जीवनको कठोर सत्य के हो भने हाम्रो आयुको कुनै निश्चितता छैन। यही अनिश्चिततालाई नेपाली लोक-साहित्यले अत्यन्तै मार्मिक ढङ्गमा प्रस्तुत गरेको छ:
“एक बित्ताको आयु छैन, चार बित्ताको सेखी।
हिजो बालक आज यौवन, वृद्ध भोलि देखि।।”
यस पद्यले मानिसको घमण्ड र समयको तीव्र गतिलाई औंल्याउँछ। साासको कुनै भर नभएको छोटो जीवनमा मानिस धन, रूप र शक्तिको ठूलो सेखी (अहंकार) देखाउँछ। हिजो मात्र काखमा खेल्ने बालक आज बैंसले मात्तिएको युवा बनेको छ, अनि हेर्दाहेर्दै भोलि बुढ्यौलीले समात्नेछ।
समयले एक दिन रूप र शक्ति दुवै खोसेर लैजान्छ।
आयु छोटो छ, त्यसैले बाँचुन्जेल सकारात्मक र उपयोगी काम गरौँ।
समयको गति रोक्न कसैले सक्दैन। त्यसैले, व्यर्थको घमण्डमा अल्झिनु भन्दा जीवनको छोटो यात्रालाई नम्रता र प्रेमका साथ सार्थक बनाउनु नै वास्तविक बुद्धिमानी हो।
